बेलायतको लण्डनमा हुन गैरहेको ओलम्पिक खेललाई लक्षित गरी आयोजकले डेढ लाख कण्डमको जोहो गरेको छ । यी कण्डम खेल हेर्न आउने दर्शकका लागि भने होइन । ओलम्पिक खेलमा भाग लिने खेलाडीहरुको प्रयोगका लागि भन्दै डेढ लाख कण्डमको बन्दोबस्त गरिएको हो ।

यसअघि बेइजिङ तथा सिड्नी ओलम्पिकका बेला खेलाडीहरुले प्रसस्त कण्डम खपत गरेको तथ्यांकलाई मध्यनजर गर्दै यो पाला बेलायती आयोजकले यतिधेरै कण्डमको जोहो गरेका हुन् । बेइजिङ ओलम्पिकका बेला १ लाख कण्डम खेलाडीहरुले खपत गरेका थिए । त्यसअघि सन् २००४ मा भएको सिड्नी ओलम्पिकमा सुरुमा ७० हजार कण्डमको बन्दोबस्त गरिएकोमा पछि नपुगेर २० हजार कण्डम थप गर्नुपरेको थियो ।

लण्डनमा पनि सिड्नीमा जस्तै खेलाडीहरुका लागि कण्डमको अभाव नहोस् भनेर आयोजकले सुरुमै एक कदम अघि बढ्दै डेढ लाख कण्डमको व्यवस्था गरेका हुन् । यो संख्या बेइजिङ ओलम्पिकको कण्डम संख्या भन्दा ५० हजार बढि हो ।

विभिन्न ठूला अन्तराष्ट्रिय प्रतियोगिताका दौरान खेलाडीहरुले ठूलो मात्रामा कण्डमको प्रयोग गर्ने गरेको देखिएको छ । बेइजिङ ओलम्पिकका बेला केही खेलाडीहरुले गेम्स भिलेजमै खुलेआमा सेक्स गरेको समेत फेला परेको थियो । सिड्नी ओलम्पिकका बेला पनि हालत यस्तै थियो । अझ भारतमा भएको राष्ट्रमण्डल खेलका बेला त दिशापिसाब गर्नका लागि बनाइएका शौचालय समेत प्रयोग गरिएका कण्डमले जाम हुने गरेका थिए ।

सोही तथ्यलाई मध्यनजर गर्दै लण्डन ओलम्पिक समेत सेक्स ओलम्पिक हुने सम्भावना रहेकाले आयोजकले एक कण्डम उत्पादकलाई खेलाडी तथा अरु पदाधिकारीको लागि समेत प्रसस्तै कण्डम उत्पादन गर्न अर्डर दिएको छ । खेलाडीहरुले प्रयोग गर्ने यस्ता कण्डमको प्याकमा बाहिरै यौन स्व्ाास्थ्य सम्बन्धि सन्देश लेखिएको हुनेछ ।